काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आइतबारको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरिन् ।
उनले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताइन् । उनले भनिन्– ‘भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ’ उनले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गरिन् ।